Wednesday, 28 February 2024

बन्द खाम (The Memoir of Untold Feelings)


 

सामान्यतया, ब्याचलर(स्नातक) सकिएपछि बिधार्थी जीवन आफ्नो अन्तकाल तिर आईपुग्छ र व्यवसायिक जीवन आफ्नो उषाकाल तिर। तर यो दुई बिचको ग्याप बर्षौ लामो भईजान्छ, जसमा व्यक्ति आफुलाई खोज्दा खोज्दै, आफ्नालाई खोज्दा खोज्दै चरम निराशासँग जुध्न बाध्य हुन्छ। म आज पनि सम्झिन्छु हरेक पटक भात खाने बेला बुवाका आँखा "लोकसेवा लडिनस् भने तेरो जिन्दगी चल्दैन केटो।" भनेर झस्काईरहन्थे। मलाई भने सरकारी अड्डामा हाकिमलाई दुई हात जोड्दै, जनताको सत्तोसराप खाँदै जिन्दगी कटाउनु थिएन।तर अब के गर्ने? भन्ने प्रश्नका उत्तरहरु निकै सिमित थिए। कोहि साथी पासपोर्ट बनाउने लाईनमा थिए, कोहि लोकसेवा तयारी कक्षामा घोक्दै थिए, कोहि गाउँ फर्केर स्कुलमा घोक्रो सुक्ने गरि पढाउन थालिसकेका थिए। मैले भने पढाईलाई नै निरन्तरता दिने निर्णय गरि वातावरण विज्ञानमा मास्टर्स जोईन गरे।


यो एक बिधार्थी, एक थान बेरोजगारी र एक पोका उदासीको संस्मरण होईन। यो एक बन्द खामको कथा हो।संसारमा यस्ता कति चिठ्ठीहरु होलान, जो प्रापक सम्म कहिल्यै पुगेनन्। कति चिठ्ठि होलान जो कहिल्यै हुलाक गएनन्। कति चिठ्ठि होलान जो कहिल्यै लेख्दै लेखिएनन्। 


नयाँ कलेजको पहिलो दिन, पहिलो कक्षा - केमेस्ट्रि। मसँग प्लस टु पढ्दादेखि नै दुश्मनी साँधीरहेको बिषय हो -केमेष्ट्रि। रसायनको मिलन बिच्छन्दन, मेरो मगज बाहिरको कुरो हो। पहिलो दिनको पहिलो कक्षामै ध्यान लगाउन सकिन्। शिक्षकको कुरोमा ध्यान नजाँदा सबथोकमा ध्यान जाँदो रैछ। कक्षाको भित्ताको रङ हरियो र सेतो थियो।झ्यालमा पर्दाको रङ  फुलबुट्टे निलो थियो। बेन्च डेस्कहरु राता थिए। डस्टबिनको रङ पनि रातै थियो। सुरु बेन्च देखि बिधार्थी गने।एकचोटि गन्दा २४ जना भए, अर्को चोटी गन्दा २५ भए। धन्नै म नि त उपस्थित छु भन्ने बिर्सिएछु। आँखा डुलाउँदै गर्दा अर्को साईडको अन्तिमबाट तेस्रो बेन्चमा आँखा आएर रोकियो। कालो खुल्ला कपाल, निलो स्विटर, कालो जिन्स, घाँटिमा बेरिएको रङ्गीबिरङ्गी सल।मंसिरको चिसो, राता गाला, कानमा कालो टप, हातका नङमा हरियो नङपालिस। माईकल ऐन्जेलोको पेन्टिङ, रबिन्द्राथ टैगोरको कविता, गुरु दत्तको फिल्म जस्तै सुन्दर। कोहि व्यक्ति सुन्दर भएर मन पर्छन् या मन परेर सुन्दर लाग्छन् म भन्न सक्दिन। उनी डेस्क मुनि राखेर मोबाइल चलाउँदै थिईन। शायद केमिस्ट्री उनको पनि जानी दुश्मन हुनुपर्छ।


घरमा बस्नुको फ्रस्ट्रेसनबाट भाग्न पनी कलेज नियमित जानुपर्ने थियो। अब अर्को बहाना थपियो।कक्षामा बस्ने गालामा हात राख्ने अन्तिमबाट तेस्रो बेन्चमा हेर्ने।ग्लालिलियोले टेलिस्कोपबाट ग्रह हेरेझै म पनि आफ्नो तारामण्डल हेर्न कलेज जान थाले। म जगजित सिहंको गजल सुन्न कलेज जान थाले। तर त्यो तारामण्डल केवल म मात्र देख्थे। त्यो गजल केवल मेरो कानमा मात्र गुन्जिन्थ्यो।सोचे एकदिन उनी र म कुनै आमुक शहरको एक क्याफेको कुनाको टेबलमा आम्ने साम्ने बस्नेछौ। हाम्रा अगाडि दुई चियाका कपहरु हुनेछन्। चिया सकिएर पिँध सम्म पुग्दा पनि गफहरु सकिनेछैनन्।


उनी रातो स्कुटरमा आउँथिन।म आ.र.एन.ए.सीको माईक्रोबसमा खाँदिएर घर जाँदा आफुलाई उनको रातो स्कुटर पछाडि कल्पना गर्थे।म पच्चिस बर्ष कटेपछि सोह्र बर्षको जस्तो भएको थिए। भर्खर किशोर भएको थिए। कलेज बाट छुट्टिदा उनी उत्तर लाग्थिन , म दक्षीण लाग्थे। दिशा बिपरितार्थी थोयो।उनी चीन थिइन, म भारत जस्तै। हाम्रो मिलनको सम्भावनाको हिसाब किताब भने मैले कहिल्यै गरिन। समाजिक सन्जालमा उनलाई देखेको पहिलो दिन नै खोजिसकेको थिए तर रिक्वेष्ट पठाउने आँट जुटाउन हप्तौ लाग्यो। 


हामी फुलचोकी फिल्ड भिजिट गयौ। अरुलाई घुम्नु थियो, अध्ययन गर्नु थियो होला, मलाई मोनालिसा हेर्नू थियो।रौनकता आधारहरु फरक थिए। म बस चढ्नुपुर्व नै उनी सिटमा बसिसकेकि थिईन। उनको छेउमा गएर बस्ने आँट म नाथेसँग हुने कुरै भएन। म उनको त्यत्ति नजिक पनि कहिल्यै गइन, न नै उनलाई आफूबाट टाढा राख्न सकेँ।फुलचोकिको उकालो चढ्दा सबै थाकेका थियौ। उकालो चढ्ने एक ठाउँमा मैले उनको अप्ठ्यारो महशुस गरि हात मागे र उँभो तानिदिए। उनको शरिर हलुका थियो। मेरो हात चिसो थियो। उनको हात तातो थियो। यो नै हाम्रो पहिलो स्पर्श थियो। पहिलो स्पर्शलाई व्याख्या गर्न त लक्ष्मी प्रसाद देवकोटा नै चाहिन्छ होला।


उनी कलेज नआउँदा शुन्य लाग्थ्यो। कक्षा अन्कन्टार लाग्थ्यो। उनी आएको दिन उज्यालो लाग्थ्यो। बानीमा दृढ थिईन उनी। अन्यायलाई कत्ती पनि सहदिन थिइन।मन नपरेको कुरा बोलिहाल्थिन्। अर्को तिर म थिए, मन परेको कुरा नि बोल्न सक्दिनथे। हुन त केटाको जातै यस्तै हुन्छ भन्छन्, मुटुमा अगुल्टा झोसिईरहे पनि ऐय्या भन्न सक्दैनन्। आँखाभरी फुल फुलिरहे पनि आहा भन्न सक्दैनन्। डरपोक प्राणीहरु।


दुई बर्ष कलेज पढ्दा मलेखु, पोखरा र सिन्धुपाल्चोक फिल्ड भिजिट गईयो। पोखरामा सबले माछापुच्छ्रे हेरे , म सँग आफ्नै मनास्लु थियो। पोखरा भ्रमणमा उनको अनुहार निन्याउरो थियो।उनी बिरामी भएकी थिईन। उनको मुस्कान हल्का खुम्चिएको थियो। भन्न त चाहान्थे अगाडि उभिएर ," मोनालिसा, तिमी नमुस्कुराउँदा शताब्दियौ देखिको ईतिहास पनि उदासीन भैजान्छ।" तर अगाडि उभिएर सन्चै त छौ? भनेर सोध्न मन आँट भएन। प्रत्यक्ष आँट नआए नि ईस्टाग्रामको मेसेजमा सोधि छाडे। मेरो पहिलो मेसेज थियो," सन्चै त छौ?" उनको पहिलो रिप्लाई थियो ," अहिले अलिक सन्चो भाछ।" पोखरा यस्तै भयो, मलेखु नि यस्तै भयो।सिन्धुपाल्चोकमा साथीहरुसँग हल्का जाँड खाईयो। नशामा हुँदा नि सिन्धुपाल्चोक बोल्यो," यसपाली नि यस्तै भयो।" साला दुई बर्ष हरु यस्तै बिते। थापाथली र माईतीघरमै बिते।माईक्रोबसमै बिते।उनका टिकटक हेर्दाहेर्दै बिते। उनलाई हेर्दा हेर्दै बिते।


उनी प्रतिको मेरो आकर्षणको कुण्ठाको घैटो कहिल्यै फुटेन।उनको साथीलाई मेरो बैराग्य ब्यथा थोरै थहा थियो। त्यो उनको कानसम्म पुग्यो पुगेन कहिल्यै थहा भएन।कलेजको आखिरि दिन आयो , यो जटिल संघार हो। कलेजको अन्तिम दिन सबै अंगालो मारिरहेका थिए।फोटो हरु खिचिरहेका थिए। मलाई उनलाई धीत् मरुन्जेल हेर्नुथियो।म केवल हेरि मात्र रहे।  अन्तिम दिन बोल्न खुबै आँट बटुलेको पनि हुँ, तर खामको मुख खुल्दै खुलेन।मेरो चिठ्ठि हुलाक भएन। भावानाहरु हृदयमै दफन रहिरहे। मनको डरले बाजि मार्यो।


आज धुलिखेलको एक क्याफेमा म बसेर यो सब लेख्दैछु।क्याफेको कुनाको टेबलमा म छु, मेरो अगाडी एक डायरी र हातमा एक कलम छ। टेबलमा दुई कप चिया छन्। एक कप चिया त मेरो लागि हो, अर्को कसको लागि हो भनेर वेटरले सोध्दा म मुस्कुराउन बाहेक थप केही बोल्न सकिन र मुस्कुराए मात्र। कपको चिया पिँध सम्म पुगिसक्यो, उनका सम्झनाहरु बेलुन झै मनको आकाशमा उडिरहेकैछन्।ब्याकग्राउण्डमा शम्भु राईको गित बजिरहेछ....

...चिठ्ठी तिम्लाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो...


बन्द खाम (The Memoir of Untold Feelings)

  सामान्यतया, ब्याचलर(स्नातक) सकिएपछि बिधार्थी जीवन आफ्नो अन्तकाल तिर आईपुग्छ र व्यवसायिक जीवन आफ्नो उषाकाल तिर। तर यो दुई बिचको ग्याप बर्षौ...